चितवन–१ निर्वाचन क्षेत्रबाट संघीय संसद सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नयाँ अनुहारका रूपमा केन्द्रीय प्रशिक्षण विभागका सदस्य जगदीश चन्द्र शर्माको नाम यतिबेला व्यापक रूपमा चर्चामा आएको छ। चर्चासँगै यस क्षेत्रको राजनीतिक वातावरण समेत तरंगित बनेको छ।
शिक्षण, नेतृत्व विकास तथा सामाजिक सेवामा तीन दशकभन्दा बढी अनुभव बोकेका शर्माले “इमानदार राजनीति, सक्षम नेतृत्व र उत्तरदायी शासन” लाई आफ्नो मूल प्रतिबद्धता बनाउँदै उम्मेदवारीको तयारी गरिरहेको नजिकका स्रोतहरूले जनाएका छन्।
शर्मा यसअघि श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष, नेपाल सरकार (शिक्षा तथा खेलकुद मन्त्रालय)बाट प्रमाणित मास्टर ट्रेनर (MTOT), नेपाल जेसिजद्वारा प्रमाणित मास्टर ट्रेनर, साथै लायन्स क्लब इन्टरनेशनल अन्तर्गत विभिन्न नेतृत्वदायी जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसक्नुभएको अनुभवी नेतृत्व हुनुहुन्छ।
यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरूमा अध्यापन, शिक्षक प्रशिक्षण तथा कार्यशालाहरूमा प्रशिक्षकका रूपमा सक्रिय रहँदै आउनुभएका शर्मा क्वेस्ट मोडल कलेजका पूर्व क्याम्पस प्रमुख तथा प्यारागन माध्यमिक विद्यालयका पूर्व प्राचार्यका रूपमा पनि परिचित हुनुहुन्छ। साथै, उहाँ TEDx वक्ता, प्रेरणादायी प्रशिक्षक (Motivational Trainer) र युवा मार्गदर्शक (Youth Mentor) का रूपमा देशभर परिचित व्यक्तित्व हुनुहुन्छ।
नजिकका स्रोतहरूका अनुसार शर्माले चितवन–१ लाई शिक्षा, रोजगारी, युवामैत्री नीति, पारदर्शी विकास र जनउत्तरदायी प्रतिनिधित्वको नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्य राख्नुभएको छ। “राजनीति सेवा हो, सौदा होइन” भन्ने स्पष्ट दृष्टिकोणका साथ जनताको आवाज संसदसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता उहाँको रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सोच, लोकतान्त्रिक अभ्यास र पारदर्शी उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत हुने प्रतिस्पर्धामा शर्मा सक्रिय रूपमा सहभागी हुन लागेको बुझिएको छ, जसले चितवन–१ को राजनीतिक समीकरणमा नयाँ बहस र अपेक्षा थपेको छ।
