मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीबाट प्रहरीले ३८ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मनहरी गाउँपालिका–३, डोढेका २४ वर्षीय आशिष घलान र सोही स्थानका २७ वर्षीय बिमल सुनार रहेका छन् ।
प्रहरीका अनुसार खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला परेको थियो ।
पक्राउ परेका तीनै जनामाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
