धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ।
कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा ट्रक चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। ट्रक शंकास्पद लागेपछि सुरक्षाकर्मीले ट्रकको खानतलासी गर्दा भित्र लुकाइराखेको अवस्थामा १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजासहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
