नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा परी ट्याक्टर चालक स्थानीय ५४ वर्षीय ओमबहादुर पल्ली मगर घाइते भएका थिए।
दुर्घटनापछि उद्धार गरी उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ८ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान तथा दुर्घटनाको कारण खुलाउन इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
