काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।
कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदर गरी पुनः पदमा बहाली गर्न माग गर्दै बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए ।
रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने तोकिएको छैन । आफूलाई सुनुवाइको अवसरसमेत नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको दाबी छ ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो । उक्त निर्णयपछि डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।
