काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई एक लाख पुरस्कार प्रदान गरिने भएको छ । जर्सी डिजाइनको लागि प्रतिस्पर्धा पनि खुला गरिएको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले संयुक्त विज्ञप्ति जारी गर्दै जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरेको हो । नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गरिएको हो ।
जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्नुपर्ने बताइएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ ।
क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई एक लाख पुरस्कार प्रदान गरिने बताएका छन् ।
