चितवन । भरतपुर महानगरपालिका–७ कृष्णपुरमा अंकुरम एकेडेमी सञ्चालनमा आएको छ । अंकुरमले हाल प्लस–टू का लागि प्रि–रजिष्ट्रेशन र कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनालाइन कक्षा सञ्चालन गरिरहेको छ ।
कक्षा ११ विज्ञानमा ३९ हजार भर्ना शुल्क, व्यवस्थापन र मानविकीमा २८ हजार भर्ना शुल्क रहेको छ भने मासिक शुल्क विज्ञानलाई सात हजार र अन्य संकायलाई ६००० रुपैयाँ रहेको एकेडेमीले जनाएको छ ।
आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी अंकुरमले विद्यालयबारे जानकारी गराएको हो । विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले कक्षा १ देखि १२ सम्म अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधि प्रयोग गरी विद्यालय सञ्चालन गरिने बताए ।
विद्यालयका प्रिन्सिपल सुमन पौडेलले पत्रकार सम्मेलनमा विद्यालयमा सिकाइसँगै प्रयोगात्मक अभ्यास पनि हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा एउटा कक्षा कोठामा कक्षा १ देखि ५ सम्म २४ जना विद्यार्थीहरु हुनेछन् । कक्षा ११, १२ मा भने कक्षा कोठामा जम्मा ४० जना विद्यार्थी हुने भएकोले शिक्षकले विद्यार्थीलाई प्रशस्त समय दिने अवसर पाउँनेछन् । विद्यार्थीको सिर्जनात्मक विकासमा शिक्षकले प्रशस्त मेहनत गर्नेछन् ।’ उहाँले स्कुलले कारखाना, नेम, रातो बंगला फाउण्डेसन, रोबोटिक्स एशोसिएसन नेपाल, सिराइचुली होटल, द पार्क, ल्याण्डमार्क फरेस्ट पार्क,होटल बोधी रेडसनसँग विद्यार्थी र शिक्षकको तालिम तथा क्षमताको विकासमा साझेदारी गरेको बताउनुभयो ।
कोरोनाका कारण भौतिक रूपमा विद्यालय सञ्चालनमा नआए पनि लकडाउन खुलेपछि सबै सुविधा दिने गरी विद्यालय तयारी अवस्थामा रहेको जानकारी उनले दिएका छन् । ८०० जना विद्यार्थी भर्नाको लक्ष्य लिइएको र अहिले ३०० जना विद्यार्थी भर्ना भइ अनलाइन कक्षा लिइरहेको उनको भनाइ छ । प्लस–टूमा साइन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, मानविकी र कानून शंकायका कक्षाहरू सञ्चालन गर्ने तयारी विद्यालयले गरेको छ ।
