काठमाडौं २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताएका हुन्।
मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे। ‘सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिवद्ध छ,’ उनले भने।
वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए। संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताए।
वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको उनको भनाइ छ। प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे। उनले रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गरे। – रासस
