काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल-माधवकुमार नेपाल समूहका नेतालाई छाडेर पार्टी कमिटी पुनगर्ठन सुरु गरेका छन् । शुक्रबार दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत ओलीले खनाल–नेपाल समूहका नेताबाहेकको स्थायी कमिटी बनाएर एमालेको आन्तरिक विवादलाई झनै संकटतर्फ मोड्ने ठूलो राजनीतिक कदम चालेका छन् ।
एमालेभित्र पार्टी विवादको समाधान खोज्न बुधबार र बिहीबार वरिष्ठ नेपालसँग दुई चरणमा गरेको वार्ता असफल भएपछि ओलीले एकतर्फी रुपमा आफ्नो समूहका नेतामात्रै राखेर कमिटी पुनगर्ठन गरेका हुन् । ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकालाई जिम्मेवारी दिएर खनाल–नेपाल समूहका नेतालाई जिम्मेवारीविहीन बनाएका छन् ।
ओलीको यो कदमले एमाले विभाजन हुन सक्ने आशंकालाई बल मिलेको छ, किनभने उनले पहिलो पटक पार्टीभित्र एउटा समूहलाई छाडेर कमिटी पुनगर्ठन गरेका छन् । जबकि यसअघि उनले महाधिवेशन आयोजक कमिटी विस्तारमा पुरानो कमिटीमै थप गरेका थिए ।
खनाल–नेपाल समूहका नेताहरुको बुझाईमा ओलीको यो कदम पार्टी विभाजनको घोषणा हो ।
नेपाल समूहका नेता नेता भिम रावलले ओलीले गरेको पछिल्लो निर्णय एमाले विभाजन र दक्षिणपन्थी अवसरवादलाई बढावा दिने कदम भएको बताए । ‘एमालेको विधानविपरीत गठन भएको अवैध राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकबाट ओलीले एमालेको सदस्य नभएका, पार्टीमा योगदान नगरेका, मन्त्री पदका लागि पार्टी फुटाउन र आफ्नो स्वार्थ पूरा गर्न पदको दुरुपयोग गर्ने अवसरवादीको झुन्डलाई लिएर जाने काम गर्नुभएको छ’, रावलले भने, ‘यसले उहाँ नेपालको कम्युनिष्ट आन्दोलन खासगरी एमाले विभाजन गर्न र आफ्नो दक्षिणपन्थी अवसरवादलाई बढावा दिन उद्दत हुनुहुन्छ भन्ने सन्देश दिएको छ ।’
