काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको कब्जामा रहेको नयाँ नक्सामा समेटिएको लिपुलेकसहितका नागरिकलाई अहिले नै मताधिकार नदिने बताएका छन् ।
बिहीबार नेपालस्थित विदेशी संचार माध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो क्षेत्रका नागरिकलाई अहिले नै मताधिकार नदिने आशय व्यक्त गरेका हुन् ।
आगामी निर्वाचनमा कालापानी, लिपुलेक र लिम्यिाधुुराका जनताले मतदान गर्न पाउँछन् भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो भूमि अहिले पनि भारतको कब्जामा रहेको र फिर्ता ल्याउन वार्ता र संवाद भएकाले सोहीअनुसार त्यहाँ जनतासँग व्यहावर गर्ने बताए ।
नेपालको अधिनमा सो भूमि आइनसकेकाले सोहीअनुसार व्यवहार गरिने भन्दै कूटनीति जवाफ दिएका प्रधानमन्त्री ओलीले उनीहरुलाई मताधिकार नदिने आशय व्यक्त गरेका हुन् ।
संवत् २०७७ जेठ ७ गते नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर, भारतले ५८ वर्षदेखि कब्जा लिएर राखेको र अहिले पनि फिर्ता ल्याउने प्रयास भइरहेकाले सोहीअनुुसार त्यहाँका जनतालाई व्यवहार गरिने प्रधानमन्त्रीको भनाइ छ ।
