काठमाडौं । विवादीत अभिव्यक्ति दिएर आलोचित बनेका उपप्रधानमन्त्री र शहरी विकास मन्त्री राजेन्द्र महतोविरुद्ध सर्वोच्च अदालतमा राजद्रोहको मुद्दा परेको छ ।
नेपाल बहुलताले भरिएको देश भएकोले एकल राज्य नभई बहुल राज्य हुनुपर्ने अभिव्यक्ति दिएका महतोविरुद्ध अधिवक्ता वीरभद्र जोशीले आइतबार राजद्रोहको मुद्दामा सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
रिट निवेदनमा महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गरिएको छ । मन्त्रीमा नियुक्त भए लगत्तै महतोले शुक्रबार पदभार ग्रहण गर्ने क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए – ‘हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं । सरकारमा आउने निर्णय त्यसैका लागि हो ।’
यस अभिव्यक्तिको आलोचना भएपछि महतोले सच्चाउने प्रयास पनि गरेका छन् ।
