काठमाडौं – नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा बिहिबार नियुक्ति, हेरफेर र विस्तार गरेकी थिइन् ।
नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप ८ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

शपथ लिनेमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री रहेका छन् । राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन मन्त्रालयका राज्यमन्त्री पदको शपथ गराएका थिए ।
