काठमाडौँ । कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने तयारी सुरु गरेको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको हो ।
त्रिभुवन विश्वविद्यालयले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी गरिरहेको छ । स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना (कोभिड–१९) प्रभावका कारण त्यो प्रभावित भइसकेको छ ।
कतिपय परीक्षाफल प्रकाशन गर्न नसक्दा पनि भर्ना प्रक्रिया रोकिएको हो । सुरुमा अनलाइनबाट भर्ना लिने र अवस्था सहज भएपछि भौतिकरुपमै उपस्थित भएर निवेदन दिने सकिने व्यवस्था गर्न लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले जानकारी दिए ।
योसँगै विद्यार्थीले विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् ।
भर्ना प्रक्रिया अगाडि बढाउन विश्वविद्यालयले विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ ।
स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजाका साथै अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् ।
