काठमाडौँ । डेढ दशकअघि मुलुकको कुनै पनि स्थानमा रहेका शाहवंशीय राजाको तस्बिर हटाउनेदेखि शालिकहरु तोडफोड गर्ने कार्य भयो । तत्कालीन राजारानीको नामबाट राखिएको संस्थाको नाम पर्ने लहड चल्यो । तर, गणतन्त्र घोषणा भएको १३ वर्षपछि मुलुकको एकीकरणको जस पाएका पृथ्वीनारायण शाहले सम्मान पाउन थालेको देखिन्छ ।
शाहवंशीय राजाबारे फरक फरक मत राख्ने राजनीतिज्ञ तथा आमजनता रहेका छन् । तर, पछिल्लो केही वर्षयता भने पृथ्वीनारायण शाहबारे एकमत हुँदै जान थालेको देखिन्छ । पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने आवाज बलियो बनिरहेका बेला प्रदेश २ ले पृथ्वीनाराण शाहप्रति सम्मान व्यक्त गरेको देखिन्छ ।
प्रदेश प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीकोसँगै पृथ्वीनारायण शाहको तस्बिर पनि राखिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा करिब चार गुणा ठूलो पृथ्वीनारयण शाहको तस्बिर राखिएको देखिएको छ ।
टुक्राटुक्रा परेको राज्यलाई एकीकरण गरेर सिङ्गो नेपाल बनाएका र विदेशसँगको लडाइँबाट मुलुकको जोगाएर राष्ट्रनिर्माताको नामले समेत चिनिएका पृथ्वीनारायण शाहलाई सम्मान दिन थालिएको हो ।
बिहीबार प्रदेश प्रमुखको कार्यालय प्रदेश २ को फेसबुक पेजमा पोष्ट गरिएको केही तस्बिरहरुमा प्रदेश प्रमुखको कार्यकक्षमा फ्रेममा राखिएको पृथ्वीनारायण शाहको तस्बिर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरसँगै राखिएको हो ।

संघीय सरकार संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियासँग प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजबीच भेटवार्ता भएको सार्वजनिक गरिएको तस्बिरमा पृथ्वीनारायण शाहको तस्बिर कार्यकक्षमा राखिएको देखिएको हो ।
संघीय सरकार तथा अन्य प्रदेशले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्याकक्षमा पृथ्वीनारायणको तस्बिर राखेको देखिएको छैन । तर, यसको सुरुवात प्रदेश २ का प्रमुखले गरेको देखिन्छ ।
