काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) हाल काठमाडौंमा रहेका छन् । एक साता अघि राजनीतिज्ञ र सञ्चार माध्यमको चासोको पात्र बनेका उनी केही दिनयता काठमाडौंमा रहेका छन् ।
गण्डकीमा सरकार कसले बनाउने भन्ने निर्णायक पात्र बनेका उनी एकाएक राजनीतिक समीकरण परिवर्तन गर्न पुगे । केन्द्रमा सबै दलहरुलाई पेलेर आफ्नो सरकार टिकाएको नेकपा एमालेलाई गण्डकी प्रदेश सरकारबाट हात धुने अवस्थालाई पूर्णता दिने काम पनि उनै मनाङेले गरे । उनी निर्णायक मतको रुपमा रहेका थिए ।
एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी खेलकुद मन्त्री बने । तर, राजनीतिक घटनाक्रम बढ्दै जाँदा गुरुङ सरकार टिकाउने वा विपक्षी गठबन्धनको सरकार बनाउने भन्ने फैसला गर्ने मत मनाङेको थियो ।
तर, मनाङेले गुरुङ सरकारलाई विश्वासको मत दिएनन् । जस कारण अहिले कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार रहेको छ । जसमा मनाङे विनाविभागीय मन्त्री छन् । गण्डकीमा एमालेको सरकार ढालेर कांग्रेसको सरकार बनाउन मनाङेको मत निर्णायक बन्यो ।
विपक्षी गठबन्धनको सरकारमा रहेका मनाङे हाल काठमाडौंमा छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

काठमाडौं रहँदा विभिन्न राजनीतिज्ञसहितका व्यक्तिहरुसँग भेट गरिरहेका मन्त्री मनाङेको काठमाडौं दौडबारे केही खुलाइएको छ ।
