काठमाडौं । सरकारले नेपालमा कोरोनाभाइरस (कोभिड १९)को नयाँ भेरियन्टको परिवर्तित रुप भेटिएको पुष्टि गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको र यसले सबै उमेर समूहलाई जोखिममा पारेको जानकारी दिएको हो ।
अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक रहेको भन्दै मन्त्रालयले सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने भएकाले थप सजग हुनुपर्नेमा जोड दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट ४८ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसियाको क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीमा पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको छ ।
डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनाहरुमध्ये ९ वटामा थप उत्परिवर्तन एवाई.१ नाम दिइएको के१४१७एन म्युटेसन भेटिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयकाअनुसार हालसम्म यो प्रजाति नेपालसहित विश्वका १० भन्दा वढी मुलुकहरुमा देखिएको छ ।

