काठमाडौं – साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
उक्त बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोरोनाबाट सुरक्षित हुँदै आफू अध्ययन गरेको विद्यालयमा भौतिकरुपमा परीक्षा दिने गरी विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ । परिक्षा चाडपर्वको बिदाबाहेक शनिबार पनि सञ्चालन हुने भएको छ ।
बोर्डले गत जेठमा सञ्चालनको तयारी गरेको परीक्षा कोरोना संक्रमण उच्च भएपछि सरकारले गरेको निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।
