काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले गण्डकी प्रदेशको सरकार गठनको सन्दर्भमा कुरा गर्दै सो कुरा बताएका हुन् ।
उनले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले यो पार्टीले गरेको अक्षम्य भुल र दलित समुदायप्रतिको अपमान भएको बताएका छन् ।
उनले सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुस्खित बनाएको पनि बताएका छन् ।
उनले भने – “सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु:खित बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ ।”
“भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।”
भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भन्दै उनले सबैले हेक्का राख्नुपर्ने बताएका छन् ।
उनले भने – “वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ । भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं ।”

