काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधान गरेर एमालेको एकता जोगाउन अब अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टू वान वार्ता हुने भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा आइतबार र सोमबार बसेको नेपाल समूहको बैठकले पार्टी एकताका लागि थप प्रयास गर्ने र भइरहेका प्रयासहरु पनि सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।
सकारात्मक रुपमा अघि बढेको एकताका प्रयासलाई टुंगोमा पुर्याउनु पर्नेमा जोड दिएको बैठकले एकताका प्रयासलाई असर गर्नेखालका अभिव्यक्ति नदिन अध्यक्ष ओली र नेता नेपालसँग आग्रह पनि गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले एकता प्रयास सकारात्मक रहेको र उक्त प्रयासलाई टुंगोमा पुर्याउन जोड दिने बैठकले निर्णय गरेको जानकारी दिए ।
मुलुकभरका एमालेका कार्यकर्ता, मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरुले एमालेको एकता चाहेको बताएका उनले एकतालाई टुंग्याउन अब ओली र नेता नेपालबीच छिट्टैै भेट हुने जानकारी दिए ।
तर, ओली र नेपालबीचको भेटवार्ताको मिति र समय तय भइसकेको छैन । दुवै समूहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच वान टू वान वार्ता गराएर सहमति गराउने प्रयास गरिरहेका छन् ।
