काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्लाई तत्कालै पूर्णता दिने विषयमा गठनबन्धनमा सहमति जुटेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधवकुमार समूहको संयुक्त बैठकले तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।
नेपाल समूहबाट डा. विजय पौडेलमात्रै सहभागी भएकाले अब माधवकुमार नेपालसहितको शीर्ष नेताहरू पुनः छलफलमा बसेर सरकार सञ्चालनका विषयमा सहमति गर्ने तयारी गरिएको छ ।
गत असार २९ गते प्रधानमन्त्रीको पदभार गरेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । अब भने मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा सहमति जुटेको हो ।
अब बस्ने शीर्ष नेताहरूले मन्त्री हुने नेताहरुको नाम दिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अहिले नै मन्त्री बन्ने नेताहरुको नाम टुंगो लागिसकेको छैन ।
बुधबारको बैठक प्रधानमन्त्री देउवालेसहित कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला सहभागी थिए ।
त्यस्तै माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई, एमालेको नेपाल समूहका डा. विजय पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएका थिए ।
