काठमाडौं । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवादले लुकामारी खेलिरहेको छ । पार्टीको विवाद समाधान गर्न नेताहरु उपायको नजिक पुगिरहेको भनिएका बेला विवाद फेरि उत्कर्षमा पुग्ने र विवाद उत्कर्षमा पुग्दा सहमतिको प्रयास सकारात्मक रुपमा अघि बढ्ने कार्यले एमालेमा लुकामारीमा अल्झिरहेको छ ।
एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिन आफ्ना सांसदहरुलाई आज सोमबार साँझ ५ बजेसम्मको समय दिइएको थियो । तर, फिर्ता लिइएको छैन । र उनीमाथि कुनै कारबाहीको प्रक्रिया पनि प्रारम्भ गरिएको छैन ।
बरु पार्टी एकताका लागि यस अघि गठन गरिएको संयुक्त कार्यदललाई भने ब्यूँताइएको छ । र उक्त कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
संस्थापन ओली र माधवकुमार नेपाल समूहमा विभाजित भएर आन्तरिक विवादमा फसिरहेको एमालेको एकताका लागि संयुक्त मस्यौदामाथि कार्यदलको बैठकमा छलफल शुरू भएको छ ।
एकताका लागि केही सकारात्मक प्रगतिपछि भएपछि कार्यदल ब्युँताइएको र उक्त कार्यदलको बैठकमा सहमतिको मस्यौदामाथि छलफल भइरहेको हो ।
सो कार्यदलमा ओली समूहका संयोजक सुवास नेम्वाङ छन् भने नेपाल समूहका संयोजक भीम रावल छन् ।उनै भीम रावलले आइतबार राति प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
प्रतिनिधि सभा विघटन विरुद्ध र संविधानको धारा ७६(५)अनुसार सरकार गठन सन्दर्भमा परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहस सोमबार सकिएको छ र यही असार २८ गते फैसला आउने अपेक्षा गरिएको छ । यस अवस्थामा एमालेले कार्यदल ब्यूँताएर एकताका लागि पहल सुरु गरेको हो ।
अदालतको फैसलाअनुसार एमालेले संस्थागत निर्णय गरेर अघि बढ्ने गरी दुवै पक्ष सहमत भएको एमाले स्रोतले जानकारी दिएको छ ।
संसदमा पुनर्स्थापना भएमा नेता नेपाललाई सम्मानजनक स्थान दिएर वर्तमान सरकारलाई निरन्तरता दिने गरी दुवै पक्षबीच छलफल अघि बढाइएको छ ।
कार्यदलमा ओली समूहबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल समूहबाट संयोजक रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट छन् ।
