काठमाडौं। मेलम्चीको पानी राजधानीबासीको धारामा पुनः आउनका लागि कम्तिमा पनि एक वर्षभन्दा बढी समय लाग्ने भएको छ। फाष्ट ट्रयाकमा काम हुँदा समेत आयोजनाको पानी काठमाडौंमा वितरण गर्नका लागि कम्तिमा एक वर्ष लाग्ने देखिएको आयोजनाका एक साइट इन्जिनियरले बताए।
‘एकदमै राम्रो काम गर्ने कम्पनी पर्यो भने वर्ष दिनमा टनेलमा पानी हाल्न सकिन्छ कि भन्ने हाम्रो निष्कर्ष हो,’ ती इन्जिनियरले भने, ‘पहिले एउटा गेट भत्किदा त मर्मत भइसक्न नौ महिना लागेको थियो। यहाँ त पूरै हेडवर्क्स नै बाढीले पुरेको छ। केके भत्कियो केके बिग्रिएको छ भन्ने थाहा छैन, क्षतिको हिसाब हुन सकेको छैन।’ मेलम्चीमा बाढीले अर्ब रुपैयाँमाथिको क्षति भएको अनुमान गरिएको उनले बताए।
मेलम्चीको पानी वितरण हुन थालेपछि केही राहत महशुस गरेका राजधानीबासीले अझै एक वर्ष पुनः पानी अभावको समस्या झेल्नुपर्ने भएको हो।
असार १ गते हेलम्बु गाउँपालिकाको भेम्राथाङमा गएको पहिरोले थुनिएको बहाव खुलेर मेलम्ची खोलामा बाढी आएको थियो। बाढीका कारण आयोजनासम्म पुग्ने सडकसँगै तीनवटा बेलिब्रिज र दुई पक्की पुल बगाएको छ।
आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक, पुललगायत अन्य भौतिक संरचनाहरु समेत बगाएको आयोजनाले जनाएको छ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजेन्द्र प्रसाद पन्तका अनुसार क्षतिको एकिन नै गर्न सकिएको छैन। ड्रोनबाट देखिएको भन्दा आयोजनामा वास्तविक क्षति बढी रहेको उनले बताए।
आयोजनाको टोली सडक नभएपछि हिँडेरै आयोजनास्थल पुगेको थियो। जसमा सीडीई माधव नेपालसहित सातजनाको टोली आयोजनास्थल पुगेर फर्किएको हो। उनीहरुले यस खानेपानी आयोजनामा ड्रोनबाट खिचेको भन्दा धेरै क्षति भएको बताएका छन्।
बाढीले बगाएर ल्याएको तीन लाख घनमिटर माटो, बालुवा, ढुङ्गा निकाल्नुपर्ने अनुमान छ, जसले अहिले आयोजनाको हेडवर्क्स पूरै पुरेको छ। त्यहाँ रहेका उपकरण, क्याम्प, सामाग्री सबै गरि कुल सवा अर्ब रुपैयाँमाथिको क्षति पुगेको पन्तले बताए।
उनका अनुसार वास्तविक क्षतिको अवस्था भित्र गएर सफा गरेपछि मात्रै हेर्न सकिन्छ। हेडवर्क्सको डाइभर्सन टनेलको अवस्था के छ भन्ने हेर्न बाँकी नै छ। साउन र भदौमा बाढीको सम्भावना हुने भएकाले असोजबाट अस्थायी पथान्तरण गर्न सकिन्छ कि भनेर सोचिरहेको उनको भनाइ छ।
क्षतिग्रस्त संरचना पुननिर्माणका लागि नयाँ ठेक्का निकालिने
आयोजनामा बाढीले पुर्याएको क्षतिग्रस्त संरचना निर्माणका लागि पुनः ठेक्का निकाल्ने योजना बनाइएको छ। क्षति यकिन गरेर नयाँ ठेक्कामार्फत निर्माण गर्ने तयारीमा आयोजनाको छ।
‘यो ठेकेदारको कारणले भएको क्षति होइन, प्राकृतिक विपत्ती हो। अहिले निर्माणको काम गरिरहेको सिनो हाइड्रो सुधारको काम गर्न इच्छुक पनि देखिँदैन,’ आयोजनाका एक इन्जिनियरले भने, ‘त्यसैले नयाँ ठेक्का निकालेर काम गर्ने योजना छ। जसमा सिनो हाइड्रो आफैंले पनि गर्न सक्छ।’
निर्माण कम्पनीको पनि साइट क्याम्पदेखि भएका निर्माण सामाग्री, उपकरणहरु सबै बाढीले बगाएको छ। उसले पनि अरु कम्पनीले जस्तै शून्यबाट काम शुरु गर्नुपर्ने अवस्था छ।
त्यसैगरि, सम्बद्ध सबै निकायसँग समन्वय गर्दै विस्तृत योजना बनाएर मात्रै काम सुरु गर्ने योजनामा मेलम्ची खानेपानी विकास समिति छ।
‘हामीले एक वर्ष लगाएर तयार पारौंला, अर्को वर्ष फेरि बाढीले लैजान सक्छ। सम्भावित जोखिमलाई हेरेर मात्रै अघि बढ्छौं,’ सीडीई पन्तले भने, ‘आयोजनाको मुहानस्थलमाथि केके भएको छ थाहा छैन। जल तथा मौसम, भुसंरक्षण विभाग, राष्ट्रिय निकुञ्ज सबैसँग समन्वय गरेर कसको जिम्मेवारी के भन्ने तोकेर मात्रै अघि बढ्ने योजना छ।’
बाढीले आयोजनास्थलसम्म पुग्ने सडक नै बगाएकाले अहिले सडक निर्माणको काम भैरहेको आयोजनाले जनाएको छ। मेलम्चीबजार हुँदै चनौटेको रातोपुलसम्म गाडी जान्छ। त्यहाँबाट करिब ६ किलोमिटरमा रहेको किउलसम्म पुग्ने सडक निर्माण भैरहेको छ। किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवर्क्स करिब ५ किमिमा पर्छ।
खानेपानी मन्त्रीसहितको टोली मेलम्ची जाँदै
शुक्रबार खानेपानी मन्त्री वसन्तकुमार नेम्वाङसहितको टोली मेलम्ची जाँदैछ।
सरोकारवाला निकायसंग छलफल पनि गर्ने र हेलम्बु गाउपालिकालाई आर्थिक सहयोग समेत प्रदान गर्नका लागि टोली मेलम्ची जान लागेको खानेपानी मन्त्रालयका सहसचिव रमेश न्यौपानेले जानकारी दिए।
मेलम्ची जाने टोलीमा मन्त्रीसँग खानेपानी सचिवसहित सडक विभाग, खानेपानी विभाग, आयोजना प्रमुख लगायत पनि हुने बताइएको छ।
