काठमाडौं । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट देखापरेको छ । सोमबार विपक्षी गठबन्धनले बहुमत सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए ।
लुम्बिनी प्रदेश सभामा ८० सांसदमध्ये नयाँ सरकार गठन प्रक्रिया थाल्न माग गर्दै बुझाएको पत्रमा ४१ सांसदको हस्ताक्षर थियो । जुन बहुमतको सरकार बनाउन पर्याप्त संख्या हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता शंकर पोखरेल नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रदेश प्रमुख शेरचनसँग बहुमतको सरकार गठन प्रक्रिया थाल्न माग गरेका थिए ।
सो पत्रमा हस्ताक्षर गर्ने मध्येकी एक सांसद विमलाकुमारी खत्री वलीले आफू एमालेमै फर्र्किको बताएपछि विपक्षी दलहरुलाई अब बहुमत नपुग्ने भएको छ ।
हस्ताक्षर बुझाएकी वलीले गत निर्वाचन नेकपाबाट सूर्य चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गरेर विजयी हासिल गरेकी थिइँन् । पछि एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी उनले अहिले आफू एमालेमै फर्किएको जानकारी दिएकी छन् ।

हस्ताक्षर बुझाएको केही घण्टामै सोमबार अपरान्ह विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेकाले अहिले एमालेमै फर्किएको जानकारी दिएकी हुन् ।
उनी सत्तारुढ नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ । वली एमालेमा गएपछि माआवादीको माओवादी केन्द्रका १७ जना (सभामुखवाहेक), कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । जुन बहुमतको सरकार बनाउन अपुग संख्या हो ।
