काठमाडौं । नेकपा एमाले फुटाउन अन्तिम अस्त्रका रुपमा माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन आग्रह गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो अन्तिम अस्त्र प्रयोग गर्ने भएका छन् ।
आईतबार बालुवाटार पुगेर माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासंग दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन आग्रह गरेको र प्रधानमन्त्री देउवा राजी भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी र संसदीय दलको बैठक डांकेका छन् ।
एमालेका एक सांसदका अनुसार आज अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका ११ समानुपातिक सांसदहरुलाई कारबाही गर्ने भएका छन् । ११ जना समानुपातिक सांसदलाई कारबाही गरी उक्त रिक्त स्थानमा अन्यलाई सिफारिस गर्न लागेका हुन् ।
सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरी दल विभाजन गर्नका लागि अध्यादेश ल्याउने तयारी गरेपछि अध्यक्ष ओलीले राती नै विज्ञप्ति निकाल्दै पार्टी विभाजन तर्फ नलाग्न अपिल गरेका थिए । तर माधव नेपाल कुनै मुडमा पनि अब ओलीसंग मिलेर नजाने निर्णयका साथ अघि बढेका छन् ।
माधव नेपाललाई खुलेर समर्थन गरेका समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, पार्वती विशुंखे, मुकुन्द न्यौपाने, कल्याणी खड्का, समिना हुसेन, लक्ष्मी चौधरी, पुष्पा कर्ण, सरला यादव, विना बुढाथोकी, निरादेवी जैरू र कलिला खातुनलाई कारबाही गर्न लागेका छन् ।
माधव नेपाल समूहमा रहेका यी ११ सांसद बाहेक अरु सांसदहरु पार्टी विभाजनमा साथ नदिने जनाएका छन् । पार्टी विभाजनमा साथ दिन खुलेका सांसदहरुलाई मात्र कारबाही गर्ने अध्यक्ष ओलीको तयारी रहेको छ ।
माधव नेपाल समूहसंग भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट रुष्ट भएका छन् । दल विभाजन तर्फ गएर सरकारमा जान खोजे आफूहरु एमाले मै रहने कुरा माधव नेपाललाई उल्लेख गरिसकेका छन् ।
