काठमाडौँ – अफगानिस्तानको काबुलबाट थप ८७ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन् । यसअघि सोमबार दिउँसो १ सय २७ नेपाली स्वदेश फर्र्किएका थिए ।
विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि अमेरिकाले ३ सय ८५ नेपालीलाई उद्धार गरी कतारको दोहा पुर्याएको थियो ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपाली मध्ये १ सय २७ जना नेपाली सोमबार र ८७ जना नेपाली गएराति नेपाल आइपुगेका हुन् । नेपाल आइपुगेका नेपालीलाई घर पुर्याउने व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा रहेकाले उनीहरुलाई उद्धारको लागि सरकारले सम्पर्कमा आउन अनुरोध गरेको छ ।
