चितवन – एसएमजी ‘गन’ चोरी गरेको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय भोगिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दालाई सैनिक विशेष अदालतले अग्राधिकारमा राख्दै आज (बिहीबार)का लागि पेसी तोकेको छ। गुरुङ र तामाङले चोरेको भनिएको ‘गन’ अर्कैले चोरेको पुष्टि भएपछि २८ महिनाअघि दिइएको पुनरावेदनमाथि बिहीबार बहस हुने भएको हो।
‘यसबारे धेरै कुराहरु बाहिर आएपछि सेनाको अदालतले भोलिलाई पेशी तोकेको खबर आएको छ’, जेलभित्र रहेका सैनिक परिवारका सदस्यले भने, ‘हामीलाई आशा छ, अग्राधिकारसहित तय भएको पेशीले केही गर्ला भन्ने लागेको छ। निर्दोष हाम्रा परिवारका सदस्यलाई रिहा गरियोस्।
सामान्यतः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनु पर्ने भएतापनि सैनिक विशेष अदालतले यो मुद्दालाई २८ महिनादेखि अल्झाएर राखेको थियो। साउन ०७ गते नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालको साथबाट बरामद भएको एसएमजी ‘गन’ र लबकुमार तथा सरोजले कालीबहादुर गणबाट चोरेको भनिएको ‘गन’को बडी नम्बर एउटै रहेको पुष्टि भएपछि यो मुद्दालाई सैनिक मुख्यालयले विशेष चासोका साथ हेर्न सुरु गरेको थियो। नेपाल समय
