काठमाडौँ – सत्तारुढ गठबन्धनका नेताहरुबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने विषयमा छलफल भएको जनाइएको छ ।
यस्तै बैठकमा गठबन्धनलाई निरन्तरता दिने, दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य छानवीन प्रतिवेदन सार्वजनिक गर्ने विषयमा छलफल भएको छ ।
उक्त छलफलमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी रहेका थिए ।
प्रधानमन्त्री बनेको डेढ महिनाबित्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् । अब एक दुई दिनमा नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा देउवा छन् । आजको बैठकमा गठबन्धनका शीर्ष नेताहरु यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन् ।
