नेकपा एमालेले पार्टीबाट निष्काशन गरिएका आफ्ना १४ सांसदलाई कारवाहीको सूचना नटाँसेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ।
नेकपा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटासँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएर मुद्दा दायर गर्न लागिएको सेतोपाटीलाई जानकारी दिए।
‘हामीले पार्टीबाट निकालेका १० केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले सनाखतमा मान्यता दिएको छ’, भट्टराईले भने, ‘उनीहरुलाई मान्यता दिनु हुदैँन भन्ने हाम्रो मत हो।’
एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए।
सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था राजनीतिक दल सम्बन्धि ऐनमा रहेको छ। तर सभामुख सापकोटाले १३ औँ दिनमा माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेको अवस्थामा कारवाही गरिरहनु नपर्ने निर्णय गरेका थिए।
नेकपा एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ।
