काठमाडौं – सरकार गठन भएको दुई महिना पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार गत २९ असारमा देउवाले प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका थिए । इतिहासमै जम्बो मन्त्रिपरिषद् गठन गरेर आलोचना खेपेका देउवाले पाँचौपटक प्रधानमन्त्री हुँदा भने मन्त्रिपरिषद विस्तार गर्न सकिरहेका छैनन् । अहिले उनले पाँच सदस्यीयमा नै सीमित राखेका छन् ।
पाँच दलीय गठबन्धनका सरकार चलाइरहेका देउवासँग गृहमन्त्री बालकृष्ण खाँणसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्रै छन् । देउवालाई अझै २० जना मन्त्री थप्ने सक्ने अधिकार छ । तर, गठबन्धनमा मन्त्रालय भागबन्डाको बिषयमा कुरा नमिल्दा देउवा अलमलमा परिरहेका छन् । गठबन्धनमा कुन मन्त्रालय कसलाई भन्ने विषयमा नै कुरा मिलिरहेको छैन ।
एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालयकै बिषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको पनि बताइएको छ । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य लगायतका मन्त्रालयमा नेपाल र यादवको पार्टीले दाबी गरेपछि कुरा नमिलेको स्रोतको भनाई छ ।
सरकार गठन भएको लामो समय वित्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै नेकपा एमालेका नेताहरुले आलोचना गर्न थालेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री देउवाले अब देश बनाउँछन् भनेर कसैले विश्वास नगर्ने बताएका छन् । रिजालले दुई महिनामा छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने र अध्यादेश ल्याएर अर्काको पार्टी फुटाएर आफू बलियो बन्ने षड्यन्त्रबाहेक सरकारको केही उपलब्धि नदेखिएको भन्दै कडा अलोचना गरेका छन् ।
‘शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनु थियो, भइहाल्नुभयो । बॉकी कुनै हतार छैन । दुई महिनासम्म मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधानमन्त्रीले देश बनाउँछन् भनेर कसले विश्वास गर्ला ? एकजना व्यक्ति हटाउनेबाहेक गठबन्धनबीच न एजेन्डामा सहमति छ न त कहॉ जाने भन्ने मार्गचित्र छ ।’ उनले लेखेका छन् – ‘दुई महिनामा छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने र अध्यादेश ल्याएर अर्काको पार्टी फुटाएर आफू बलियो बन्ने षड्यन्त्रबाहेक केही उपलब्धि देखिएन । परमादेश दिने भित्री-बाहिरी ‘श्रीमान्’ हरूलाई पनि त्यति मजा लागेको छैन होला !’
