काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताएका छन् । बिहिबार डोटीमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता रावलले सो कुरा बताएका हुन् ।
उनले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताए । पार्टी फुट्नु आफैंमा दुःखद् भएको बताउदै नेता रावलले भने – ‘म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैंमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु ।’
आफुले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत भएको बताउदै रावलले पार्टी एकतालाई जोड दिनतर्फ आफु अग्रसर रहेको बताए । उनले भने – ‘मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु’
माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको खण्डन गर्दै रावलले हल्लामा सत्यता नरहेको बताए । नेता रावल बिहिबार नै गृह जिल्ला अछाम जाँदैछन् ।
