काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको जग्गा प्रकरणमा आफुमाथि झुठो मुद्दा लगाइएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले सो कुरा बताएका हुन् ।
बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै गच्छदारले राजनीतिक जीवन ध्वस्त पार्न आफूमाथि षड्यन्त्र भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए ।
प्रधानमन्त्री निवास विस्तार गर्ने योजना आफु भौतिकमन्त्री हुनुभन्दा पहिले नै सुरू भएको भन्दै उनले नेपालको निर्देशनमा आफुकहाँ आएपछि कार्यान्वयन गरेको बताए ।
उनले आफ्नो राजनीतिक करिअर सकाउन यस्तो गरिएको भन्दै भने – ‘माधवकुमार नेपालको निर्देशनमा तह तहमा आएर मन्त्रिपरिषदबाट पारित भएको हो। सरकारलाई हानी नहुने भएकाले यसलाई भ्रष्टाचार भएको मानिँदैन।’
उनले आफुलाई मुद्दा लगाएर कसैकसैलाई चोख्याउने काम पनि भएको बताए । आफूलाई मात्र फसाउन खोजिएको भन्दै उनले अझै पनि न्याय पाउनेमा आफ्नो विश्वास रहेको बताए ।
