काठमाडौं – प्रमुख प्रतिक्षी नेकपा एमालेका नेता शंकर पोखरेल सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश चोरवाटोबाट फिर्ता लिएको बताएका छन् । सरकारले दल विभाजन गर्न सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबार पोखरेलले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।
उनले संविधान र कानुनको दुहाईदिने गठवन्धनले आफैले ल्याएको दलविभाजन सम्वन्धी अध्यादेश आफ्ना लागि गलपासो भएसी चोरवाटोवाट फिर्ता लिएको बताएका छन् ।
सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत भदौ ९ गते ४० प्रतिशतको प्रवाधान हटाएर केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र भएपनि दल विभाजन गर्न सकिने नयाँ प्रावधान ल्याएर अध्यादेश जारी गरेको थियो ।
अध्यादेश जारी भएकै दिन यसैको जगमा टेकेर नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए ।
