नयाँदिल्ली — भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का युवा नेता तथा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का पूर्वविद्यार्थी नेता कन्हैया कुमार र दलित युवा नेता जिग्नेश मेभानी कंग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार नयाँदिल्लीस्थित अल इन्डिया कंग्रेस कमिटीको मुख्यालयमा औपचारिक कार्यक्रमबीच उनीहरु पार्टी प्रवेश गरेका हुन् । युवा नेताद्वयलाई कंग्रेसका नेता राहुल गान्धीले औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् ।
‘पृथकतावादी’ ‘राष्ट्रद्रोही’ जस्ता अनेक आरोपका बाबजुद कन्हैया कुमारलाई भारतीय राजनीतिमा लामो राजनीतिक भविष्य बोकेको नेताको रुपमा हेरिएको थियो । तर कंग्रेसमा प्रवेश गरेसँगै उनी व्यापक रुपमा आलोचित बनेका छन् ।
‘बेगुसरायले कन्हैया कुमारको विचार पहिले नै अस्वीकार गरेको छ । अहिले उनले राजनीतिक महत्वाकांक्षाका लागि आफ्नो विचार र पार्टी नै परिवर्तन गरेका छन् । तर आम जनताले कसैलाई उसको राजनीतिक महत्वाकांक्षाका लागि मत दिँदैनन् । उनी जुन पार्टीमा गएका छन् त्यो पार्टी पहिले नै बिहारबाट अस्वीकृत भइसकेको छ । जुन डुब्दै गरेको डुंगा हो,’ बिहारका मन्त्री मंगल पाण्डेले कन्हैयाको राजनीतिक कदमप्रति टिप्पणी गर्दै भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।
संसद् भवन हमलाको दोषीको रुपमा मृत्युदण्ड पाएका अफजल गुरुको स्मृतिसभामा २०१६ मा जेएनयूमा भएको कार्यक्रममा राष्ट्रविरोधी नारा लगाएको भन्दै कन्हैया कुमार पक्राउ परेका थिए । तर आरोप प्रमाणित हुन नसक्दा उनी रिहा भएका हुन् । कन्हैया कुमारसँगै दलित नेता जिग्नेश मेभानी पनि कंग्रेसमा प्रवेश गरेका छन् । जिग्नेश वकिल र पूर्वपत्रकार समेत हुन् । उनी दलित समुदायमा निकै लोकप्रिय युवा नेताको रुपमा चिनिन्छन् ।
