चौधरी ग्रुपको ललितपुरको भैंसेपाटीमा निर्माण गर्दै गरेको सिजी भिल्लाको बुकिङ खुला भएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी हिल्स प्रिमियमले दसैंतिहार र छठ पर्वको अवसर पारेर भिल्लाको बुकिङ खुला गरेको हो ।
कम्पनीका प्रतिनिधि विवेकजंग थापाले कम्पनीले बुकिङ खुला गर्ने बित्तिकै थुप्रै ग्राहकल फोन गरेर चासो देखाएको बताए । कम्पनीले हालसम्मकै उच्च सुविधायुक्त र महँगा घर निर्माण गर्ने दाबी गरेको छ । कम्पनीले कागजी कार्य सम्पन्न गरी भौतिक रुपमा निर्माण सुरू गर्ने तयारी गरेको थापाले जानकारी दिए ।
भिल्लामा ५६ वटा युनिट हुनेछन् । कम्पनीका अनुसार २६ रोपनी ३ आना जग्गामा ती घर बनाइनेछन् । उक्त जग्गाका कम्पनीले विभिन्न चार प्रकारका घर बनाउने भएको थापाले बताए । घरहरू ४ आनादेखि १० आना क्षेत्रफलमा निर्माण हुनेछन् ।
‘कम्पनीले के-यूपी भिल्ला, एमएस भिल्ला, एफ भिल्ला र एफबी भिल्ला गरी चार प्रकारका घर बनाउनेछ,’ थापाले भने, ‘उक्त घरहरूको मूल्य बनावट, क्षेत्रफल र स्थानका आधारमा तय हुनेछ ।’
उपत्यकामै पहिलो पटक लक्जरियस भिल्ला बनाउने तयारी गरेको सिजीले न्यूनतम प्रतिघर ५ करोड ७० लाखदेखि १० करोडसम्म मूल्य तोकेको छ । कम्पनीले के-यूपी भिल्ला साढे ३ तल्लाको निर्माण गर्ने छ । उक्त घरको बिल्टअप एरिया ३०५७.५९ स्क्वायर फिटको हुनेछ । चार आनामा बन्ने सो घरको मूल्य ७ करोड ६० लाख रुपैयाँ तोकेको छ ।
त्यसैगरी, एमएस भिल्लाअन्तर्गतका घर पनि ३ तल्लाका हुनेछन् भने बिल्टअप एरिया २६६९.६३ स्क्वायरफिट रहनेछ । सो घरको सुरुवाती मूल्य ५ करोड ७० लाख रुपैयाँ तोकेको छ ।
कम्पनीले एफ भिल्लाअन्तर्गत साढे ३ तल्लाका घर ३०१७.३९ स्क्वायरफिट बिल्टअप एरिया सहितका बनाउनेछ । यस्ता घरको मूल्य ६ करोड रुपैयाँ तोकेको छ । त्यस्तै एफबी भिल्लाअन्तर्गत ४ तलाका घर बन्नेछन् । यी घरको बिल्टअप एरिया ३६४५.०३ स्क्वायरफिट हुनेछ । यी घरको मूल्य कम्पनीले ७ करोड रुपैयाँ तोकेको छ ।
कम्पनीले आगामी १० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीका अनुसार उक्त भिल्लाभित्र स्विमिङ पुल, बगैंचा, अन्डरग्राउन्ड तार, खाने पानीको सुविधासहित २४ सै घण्टा सेक्युरिटी र सीसी क्यामेराको सुविधा हुनेछ । कम्पनीले २ वर्षसम्म घरको वारेन्टी दिएको छ । जसका दुई वर्षको अवधिमा भिल्लामा केही समस्या आएमा कम्पनीले निःशुल्क रुपमा सेवा दिनेछ ।
