यस वर्षको बडादसैं आजबाट सुरु भएको छ । विजया दशमीको पहिलो दिन आज घरघरमा घटस्थापना गरेर दसैंको विधिपूर्वक सुरुआत गर्ने चलन छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश पूजा गरी घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक मानेर पहेँलो जमरा लगाइन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूणर् कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।
आज घटस्थापनाको शुभ साइत बिहान ११ः४६ बजे रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ। दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
