काठमाडौं – गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको शपथ लिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । डोबाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।
गएको साउन ८ गते मन्त्री बन्ने पक्का भए पनि अन्तिम समयमा उनको नाम काटिएको थियो। आज मन्त्रीको शपथ लिएपछि उनले संविधानअनुसार पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री नियुक्तिमा सल्लाह नगरेको भन्दै गठबन्धनका नेताहरू भने असन्तुष्ट बनेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने ‘मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने गठबन्धन के हुन्छ, के हुन्छ’
शपथ ग्रहण कार्यक्रममा माओवादीलगायत सत्ता गठबन्धन र विपक्षी सांसदहरू समेत सहभागी भएका थिएनन् । अब प्रदेशमा कांग्रेसको तर्फबाट ६ जना, माओवादी केन्द्रका ४ जना जसपाका एक जना र स्वतन्त्र सांसद एक जना मन्त्री बनेका छन् ।
