नवलपुर । यहि कार्तिक ७ र ८ गते नवलपुरका सबै पालिकामा भिटामिन ए र जुकाको औषधी खुवाईदैछ । राष्ट्रिय भिटामिन ए अभियान कार्यक्रम अन्तर्गत जिल्लाका सबै पालिकामा भिटामिन ए र अल्बेण्डाजोल खुवाउने कार्यक्रम तय गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका ३० हजार ९ सय ८९ जनालाई भिटामिन ए र २७ हजार ३९ जनालाई जुकाको औषधी लक्ष्य लिईएको छ । जस अनुसार गैँडाकोटका ४ हजार ९ सय २९ जनालाई भिटामिन ए र ४ हजार १ सय ७७ जनालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ । गैँडाकोट स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले ५ हजार ९ सय ४३ जना बालबालिकालाई भिटामिन ए र ५ हजार १ सय ९६ जनालाई जुकाको औषधी खुवाईने बताउनुभयो ।
गैँडाकोटमा बसाईसरी आउने तथा कोठाभाडामा बस्नेहरुको सङ्ख्या बढेकोले उनीहरुलाई समेत खुवाईने हुँदा सङ्ख्या बढ्ने बताउनुभयो । उहाँका अनुसार आवश्यक पुरै औषधी आईसकेको छ । कार्तिक ७ र ८ गते सबै वडाका आधारभुत स्वास्थ्य केन्द्रबाट औषधी खुवाईने छ । त्यस्तै देवचुलीका ३ हजार ९ सय १८ जनालाई भिटामिन ए र ३ हजार ३ सय ७४ जनालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । कावासोतीका ५ हजार ६ सय १३ जनालाई भिटामिन ए र ४ हजार ८ सय १७ जनालाई जुकाको औषधी खुवाईने छ ।
मध्यविन्दुमा ५ हजार ३ सय ८६ जनालाई भिटामिन ए र ४ हजार ६ सय ९७ जनालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । विनयी त्रिवेणीमा ३ हजार ६ सय ७७ जना बालबालिका भिटामिन ए र ३ हजार २ सय ५८ जना जुकाको औषधी खाने उमेर समूहका बालबालिका रहेका छन् । त्यस्तै हुप्सेकोटका ३ हजार १ सय ५१ जनालाई भिटामिन ए र २ हजार ८ सय ३६ जनालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । बुलिङटारमा २ हजार ४ सय ४ जना भिटामिन ए र २ हजार १ सय ६५ जनालाई जुकाको औषधी खुवाईने छ ।
बौदीकालीका १ हजार ९ सय ११ जनालाई भिटामिन ए र १ हजार ७ सय १५ जनालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । साथै कार्यक्रम सञ्चालन भएका स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरि सञ्चालन गर्न भनेको छ ।
