सूर्य नेपालले काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे होटल निर्माण गर्ने भएको छ । चार वर्षअघि नै होटल निर्माण प्रक्रिया सुरु भए पनि उद्योग विभागले अड्काएका कारण काम अघि बढ्न पाएको थिएन । आवेदन दिएको झन्डै दुई वर्षसम्म फाइल अड्काएर राखेको उद्योग विभागले हालै अनुमति दिएपछि अब काम अघि बढाइने सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवी केसीले बताएका छन् ।
होटल खोल्न अनुमति माग्दै कम्पनीले २०७६ पुसमा विभागमा आवेदन दिएको थियो । विभागले लगानीको मोडालिटी नमिलेको भन्दै २ वर्षसम्म अल्झाएको थियो । कम्पनीले नाफाको रकमबाट होटल खोल्ने लगानीको मोडालिटी विभागमा पेस गरेको थियो । विभागले नाफाको ग्यारेन्टी नहुने भन्दै अनुमति दिन ढिलाइ गरेको हो । कम्पनीले नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनलमा होटल निर्माण गर्ने घोषणा गरेको थियो ।
होटल खोल्न कम्पनीले बुढानीलकण्ठमा ७२ रोपनी खरिद गरेको छ । होटलमा १५० देखि २०० वटासम्म कोठा हुनेछन् । सूर्य नेपालमा भारतको आइटीसी लिमिटेडको ५९ प्रतिशत स्वामित्त छ । साथै नेपाली लगानीकर्ताको ३९ प्रतिशत, ब्रिटिस अमेरिकन टोबाको इन्भेष्टमेन्ट कम्पनीको २ प्रतिशत लगानी छ । होटल भने सूर्य नेपालको नाममा रहने केसीले बताए ।
यो होटलमा एकै साथ करिब ५ सय जनालाई सेवा दिन सकिनेगरी निर्माण गरिनेछ । होटलमा ३ सयभन्दा बढीले रोजगारी पाउनेछन् । सूर्य नेपाल सञ्चालक समितिले यसअघि नै कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट बढाएर १८ अर्ब रुपैयाँ पुर्याएर होटलमा लगानी गर्ने निणर्य गरिसेकको छ ।
