कोरोना संक्रमण फैलिन नदिन लगाइएको लकडाउन खुला भएसँगै उद्योग व्यवसाय क्षेत्र गतिशील देखिएको छ । पुराना उद्योग सुचारु हुनाका साथै नयाँ उद्योग स्थापना र सञ्चालनले पनि गति लिएको छ ।
चालू आर्थिक वर्ष सुरु भएसँगै नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । चालु आर्थिक वर्षका सुरुका तीन महिनामा नयाँ १९४ वटा उद्योग दर्ता भएका छन् । यिनमा स्वदेशी लगानीमा स्थापना हुने उद्योगको संख्या ८७ छ । तीमध्ये २६ वटा ठूलो, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेको उद्योग विभागले जनाएको छ । यस्तै विदेशी लगानीमा स्थापना हुने १०७ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको त्रैमासिक विवरणअनुसार दर्ता भएका स्वेदशी नयाँ उद्योगमा १ खर्ब ४६ अर्ब लगानी हुने भएको छ । विदेशीद्वारा दर्ता गराइएका उद्योगमा २४ अर्ब रुपैयाँ लगानी हुने विभागले जनाएको छ ।
तीन महिनाको अवधिमा उद्योग दर्ता भई लगानी प्रस्ताव गरेका स्वदेशी तथा विदेशी परियोजनाले १५ हजार ३ सय २९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने विभागको तथ्यांक छ । जसमा स्वदेशी उद्योगले ८ हजार १ सय ३४ जनालाई र विदेशी उद्योगले ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । सोही अवधिमा ५ वटा डिजाइन र ९ सय १० वटा ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।
