अमेरिकाबाट आज फाइजर कम्पनीको एक लाख डोज खोप नेपाल आइपुग्दैछ । यो खोप कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त भएको हो । नेपाल सरकारले काेराेनाविरूद्धकाे यो खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निणर्य गरेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निणर्य भएको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ । ‘खोप एक लाख डोजमात्र छ । धेरैजनालाई दिन सम्भव छैन । कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो । त्यही निणर्य गरेका छौं’, शाखाका प्रमुख प्रमुख सागर दाहालले भने ।
लक्षित समुदायलाई यो खोप लगाउन कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । नेपालका मुख्य २४ वटा अस्पतालवाट यो खोप दिइने खोप शाखाले जनाएको छ । अमेरिकासँग किनेर ल्याइने भनिएको फाइजरको थप खोप आउने विषयमा यकिन नभएको खोप शाखाले जनाएको छ ।
