बेमौसमी वर्षाले ८.२६ अर्ब रूपैयाँ बराबरको धानबाली नष्ट गरेको तथ्यांक कृषि तथा पशुपन्छी मन्त्रालयले निकालेको छ । धान पाकेर भित्र्याउने बेलामा अविरल रुपमा परेको पानीले देशैभरिको धानबालीमा क्षति पुर्याएको छ । त्यसमा पनि खासगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नं. १ को धानबालीमा ठूलो क्षति पुगेको छ ।
वर्षभरि खाने अन्न गुमाएर बिलखबन्दमा परेका किसानलाई सरकारले राहत दिने निणर्य गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षापछिको बाढी, पहिरो र डुबान पीडित धान कृषकलाई प्रति हेक्टर ९० हजार रुपैयाँ राहतको प्रस्ताव गरेको छ । क्षतिको अन्तिम विवरण प्राप्त भएपछि वितरण गर्नेगरी राहत उपलब्ध गराउने प्रस्तावमा सहमति भएको छ ।
यसैगरी पीडित किसानलाई एक पटकका लागि सहुलियत दरको कर्जा उपलब्ध गराउने र एक बालीका लागि मल तथा बिउ निःशुल्क उपलब्ध गराउने सहमति भएको छ । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार असोज ३१ देखिको बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको पाकेकोे धानमा क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार सातवटै प्रदेशमा बेमौसमी वर्षाले क्षति पुर्याएको छ । वर्षाले ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट गरेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालय प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार बेमौसमी वर्षाका कारण सातवटा प्रदेशका विभिन्न जिल्लामा गरी ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै २ लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा आंशिक क्षति पुगेको छ ।
सबैभन्दा धेरै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको धानबालीमा क्षति पुगेको उनले बताए । लुम्बिनी प्रदेशमा मात्रै ४ अर्ब ५१ करोड र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड मूल्य बराबरको धानमा क्षति पुगेको तथ्यांक मन्त्रालयको छ ।
धान नेपालको सबैभन्दा महत्वपूणर् बाली हो। दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृति र अर्थव्यवस्थासँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । धानबाली सप्रेको वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने र धानबाली बिग्रेको वर्ष आर्थिक वृद्धिदर घट्ने अवस्था विगतले देखाएको छ ।
नेपालमा खेती गरिने जमिन लगभग ३० लाख ९१ हजार हेक्टर छ । यसको झन्डै आधा भूभागमा धानखेती हुन्छ । नेपालमा बर्सेनि करिब ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुन्छ । यसपटकको बेमौसमी वर्षाले ३ लाख २५ हजार मेट्रिक टनभन्दा पनि बढी धानमा क्षति पुर्याएको छ । यो भनेको कुल उत्पादनको झन्डै ६ प्रतिशत हुन आउँछ ।
