साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले उकालो यात्रालाई निरन्तरता दिएको छ । कारोबार रकममा भने कमी आएको छ । यसले बजारको तेजी केही कमजोर बनेको संकेत गरेको छ । हिजो र आजको बजारको प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास पनि केही कमजोर बनेको संकेत गरेको छ ।
यस दिन कारोबार अवधिभर सेयर बजारमा सामान्य उतारचढाव देखापर्यो । २७६८.८८ मा खुलेको बजार २७४७.९७ को न्यून र २७८३.७७ को उच्च विन्दु बनाउँदै २७८२.१२ मा बन्द भयो । बजार परिसूचक नेप्से १२.९८ विन्दुले बढ्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४३ विन्दुले बढेर ५२१ मा पुगेको छ ।
यस दिन कारोबार भएका १३ वटा समूहमध्ये ६ वटाको सूचकमा रातो पोतिएको छ भने बाँकी समूहको सूचक हरिया छन् । ओरालो लाग्नेमध्ये सबैभन्दा अगाडि होटल्स समूह छ । यो समूहको सूचक १.१५ प्रतिशतले घटेको छ । उकालो लाग्नेमध्ये सबैभन्दा अगाडि रहेको अन्य समूहको सूचक २.५३ प्रतिशतले बढेको छ ।
बजारले उकालो यात्रा जारी राखेको भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीबार ५९ हजार १४० कारोबारबाट ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ रुपैयाँमा किनबेच भए । बुधबार ७५ हजार ६१२ कारोबारबाट एक करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँमा किनबेच भएका थिए ।
यस दिन कारोबार भएका २२२ स्क्रिप्टमध्ये १२८ वटाको सेयर भाउ बढ्दा ८८ वटाको घटेको छ भने ६ वटाको क्लोजिङ मूल्य स्थिर रह्यो ।
रिडी हाइड्रोपावर कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यस दिन सबैभन्दा बढी गुमाउनेमा एनएमबी हाइब्रिड फन्ड १ का लगानीकर्ता परेका छन् । यो स्क्रिप्टको सेयर मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।
