नेपाल सेनामा कार्यरत सबै पदका सैनिकलाई घर बनाउन राष्ट्रिय वाणिज्य बैंकले सहुलियत ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतामा हालै बैंक र नेपाली सेनाका तर्फबाट हस्ताक्षर भएको छ ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार न्यूनतम १० वर्ष सेवाअवधि पूरा गरेका जुनसुकै दर्जाका सैनिकले कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउनेछन् । बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही सहुलियतपूणर् आवास कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।
सैनिकलाई घर बनाउने प्रयोजनका लागि कर्जा प्रवाह गर्न प्रतिस्पर्धाका आधारमा राष्ट्रिय वाणिज्य बैंक छनोटमा परेको हो । राष्ट्रिय वाणिज्य बैंकले आधार दर (बेस रेट) मा न्यूनतम प्रिमियम थपी कर्जाको ब्याजदर निर्धारण गर्नेछ । कर्जा लिने सैनिकलाई भने वार्षिक ३.३२ प्रतिशतमात्रै ब्याज लाग्ने बताइएको छ । यसमा नपुग ब्याज रकम कोषले अनुदानमा उपलब्ध गराउनेछ ।
नेपालमा सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम बेस रेट हुने दोस्रो बैंक हो । २७ वटा वाणिज्य बैंकले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक अवधिको वित्तीय विवरणअनुसार सबैभन्दा कम बेस रेट हुनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ । यस बैंकको बेस रेट ५.१८ छ । यसपछिको स्थानमा राष्ट्रिय वाणिज्य बैंक छ । यस बैंकको बेस रेट ५.६३ छ । बेस रेट कम भएको बैंकले सोही अनुपातमा सस्तो कर्जा उपलब्ध गराउन सक्छ ।
घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) का लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउनेछ । यस सम्भौतापश्चात् नेपाली सेनाका बहालवाला सकल दर्जाको आफ्नै आवासको व्यवस्था भई सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकका सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेका छन् ।
