निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी छसात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुनेछ । बाढी पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता कारणले आयोजना तोकिएको समयमा भने सम्पन्न हुन सकेन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युतगृहमा उपकरण जडान गर्ने काम भइरहेको बताए । उनले ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिबार स्थलगत निरीक्षण गरेका थिए । यी दुई आयोजनाले भने एक वर्षभित्र विद्युत उत्पादन गर्ने जनाइएको छ ।
यी आयोजनाको अधिकांश निर्माण पूरा भइसकेको अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । कार्यकारी निर्देशक घिसिङले छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
माथिल्लो तथा तल्लो सान्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनका आयोजना हुन् । यी तीन जलविद्युत् आयोजनाको निर्माण सन् २०१३ मा सुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित सान्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् ।
