काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाली राजनीतिमा आफ्नो सानो ठुलो भूमिका अनवरत रहिरहने बताएका छन् ।
एमालेको १०औं महाधिवेशनमा केन्द्रीय कमिटीको सूचीमा नपरेपछि सोमबार भट्टराईले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । उनले आफु केन्द्रीय कमिटीमा नपरेको बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएको बताए ।
उनले भने – “महाधिवेशनमा प्रस्तुत केन्द्रीय कमिटीमा मेरो नाम नपरेको बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएका छन । एकथरीले मेरो नाम नआएकोमा खुसी वा ठिक्क पर्यो वा ब्यङ्यात्मक टिप्पणी गर्नुभएको छ भने अर्को ठुलो पङ्तिले चिन्ता वा सद्भाव वा आश्चर्य मानेर लेख्नुभएको पढेको छु ।”
उनले पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले आफ्नो परामर्शमै आफुलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भनेको बताएका छन् ।
उनले भने – “खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ । म यसैपनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु ।”
केन्द्रीय कमिटीमा नअटाए पनि यहि कारणले आफ्नो भूमिका नखुम्चिने बताउदै उनले कोहि खुसी नहुन कोहि चिन्तित नहुन पनि आग्रह गरेका छन् । निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएनन् । उनले कार्यालय सचिवका हैसियतमा ओलीलाई सघाउदैआएका थिए ।
