काठमाडौँ । आगामी माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ। आयोगले आइतवार दै उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ। मनोनयन दर्ता गरेका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेर आयोगले चुनाव चिन्ह प्रदान गरेको हो।
राष्ट्रिय सभा सदस्यको १९ पदमा ९ दलका ४३ जनाको उम्मेदवारी परेको छ। तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। उक्त निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार राष्ट्रियसभामा विजयी हुनेछन्। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो।
फागुन २० मा एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनोनीतको कार्यकाल पूरा हुँदैछ। राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। यो निर्वाचनमा एमालेविरुद्ध कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गरेको छ।


