चितवन । चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या सामधान आयोगले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि ७७ वटा जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहदा बर्तमान सरकारले ज्ञावली नेतृत्वको आयोग विघटन गरेको थियो । वर्तमान निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले अघिल्लो आयोगले गरेका कामहरुलाईसदर गर्दै लालपूर्जा वितरणको लागि पालिकाहरुसंग सम्झौता गरेको छ ।
यस अघिको आयोगले संकलन गरेको विवरण अनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलीत,भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरघुरीले फारम भरेका थिए । यही पुस २४ गते जिल्लाको भरतपुर महानगर सहित माडी र कालिका नगरपालिकाले आयोगसंग सम्झौता गरिसकेका छन् ।
