काठमाडौं – नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वकानुनमन्त्री अग्नी खरेलले स्थानीय तहको चुनाव सार्न नमिल्ने बताएका छन् ।
मंगलबार झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खरेलले सो कुरा गरेका हुन् । उनले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताए । संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सारिएमा आफ्नो पार्टीले नसहने उनले बताए ।
उनले भने – ‘वैशाखमा हुनुपर्ने चुनाव मंसिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।’
स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको भनार्य छ ।’अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको उनले बताए ।
