काठमाडौँ । स्थानीय तहको चुनाव कहिले गर्ने भन्नेबारे सहमति जुटाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको थियो ।
त्यहीँबाट नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई टेलिफोन गरेर सोधे– जेठ ५ मा कार्यकाल सकिने भएता पनि जेठ मसान्तभित्र चुनाव गर्दा कानुन संशोधन गर्नुपर्छ कि यही कानुनअनुसार गर्न मिल्छ ? जेठमा चुनाव गर्न कानुनी अड्चन केही छन् कि छैनन् ?’
टेलिफोन संवादमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेताहरूलाई भने, ‘कार्यकाल सकिएको एक–दुई हप्ता यताउता भएर फरक पर्दैन, अहिलेकै कानुन र संवैधानिक व्यवस्थाअन्तर्गत चुनाव गर्न बाधा छैन । जेठ महिनाभित्र चुनाव गर्न निर्वाचन आयोग तयार छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘ग्रिन सिग्नल’ दिएपछि शनिबार साँझ दोस्रो चरणमा बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठ मसान्तभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ । गठबन्धनको यो सुझावसँगै आगामी जेठमा स्थानीय तहको चुनाव हुने निश्चित भएको छ ।
जेठ मसान्तभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत, आयोगसँगको छलफलपछि मिति तोक्ने जेठमा स्थानीय तहको चुनाव एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्नेबारे दुवै विकल्पमा आयोग तयार रहेको थपलियाले नेताहरूलाई जानकारी दिएका छन् । निर्वाचन आयोगले दुई चरणमा चुनाव प्रस्ताव गर्ने सम्भावना रहेको स्रोतले बतायो । तथापि एकै चरणमा पनि चुनाव गर्न सकिने आयोगले सरकारलाई यसअघि नै बताइसकेको छ ।
