काठमाडाैँ । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।
भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
बुस्टर डोजअन्तर्गत पहिलो र दोस्रो मात्राअन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने, पहिला मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ ।
यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ । मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो । अहिलेसम्म बुस्टर डोज दुई लाख ९९ हजार नौ जनालाई लगाइएको छ ।
